

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भएको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशको समग्र अवस्था कमजोर बन्दै गएको भन्दै त्यसको असर खेलकुदसहित सबै क्षेत्रमा परेको टिप्पणी गरे।
ओलीले खेलाडीमा देशभक्तिको भावना अपरिहार्य रहेको उल्लेख गर्दै देशको विकासबिना कुनै पनि क्षेत्रले अपेक्षित गति लिन नसक्ने बताए।
उनले भने, “खेलाडीहरू देशको प्रतिष्ठाका लागि ज्यान दिएर खेल्छन्। त्यसैले सबैमा देशभक्तिको भावना हुनुपर्छ। देश नै कमजोर र अव्यवस्थित भयो भने खेलकुद मात्र अघि बढ्न सक्दैन।”
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले भूकम्प, कोभिड–१९ महामारी र आर्थिक चुनौतीका बीच पनि मुलुकलाई उकास्ने प्रयास गरेको दाबी गर्दै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सुधारका काम अघि बढाएको बताए।
तर, ती प्रयास सफल हुन नदिने उद्देश्यले विभिन्न शक्तिहरू सक्रिय भएको उनको आरोप थियो।
“संवैधानिक प्रक्रियाबाट सरकार हटाउन नसकेपछि असंवैधानिक उपाय अपनाइयो। तोडफोड, हिंसा, आगजनी र लुटपाटका माध्यमबाट सरकार ढाल्ने प्रयास गरियो र त्यस्ता गतिविधिलाई वैधानिकता दिने काम भयो,” उनले भने।
ओलीले एमाले पुनः देशलाई शान्तिपूर्ण, भयमुक्त र न्यायपूर्ण दिशामा अघि बढाउन प्रतिबद्ध रहेको पनि बताए।
उनले सबै नागरिकमा देशप्रतिको जिम्मेवारी र देशभक्तिको भावना बलियो हुनुपर्नेमा जोड दिँदै न्याय र समान अवसर सुनिश्चित हुने व्यवस्था निर्माणका लागि एमालेले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।