विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई हिरासतमा राख्ने म्याद थपका लागि सोमबार विशेष अदालत, काठमाडौंमा उपस्थित गराइएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले म्याद थपका लागि पौडेललाई अदालतमा पेश गरेको जनाएको छ।

पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि विशेष अदालतले असार ८ देखि लागू हुने गरी सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

अदालतले दिएको उक्त म्याद असार १४ गते सकिएपछि अनुसन्धान निरन्तरता दिन थप हिरासत आवश्यक रहेको भन्दै प्रहरीले पुनः विशेष अदालतबाट अनुमति मागेको हो।

विशेष अदालतले म्याद थपसम्बन्धी निवेदनमाथि सुनुवाइ गरी आवश्यक आदेश दिनेछ।