जनताको मूल्यांकनमा अब्बल हुने गरी काम गर्न सांसदलाई सभामुख अर्यालको निर्देशन

जनताको मूल्यांकनमा अब्बल हुने गरी काम गर्न सांसदलाई सभामुख अर्यालको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जनताको विश्वास र मूल्यांकनमा अब्बल हुने गरी आफ्नो भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएका छन्।

सोमबार संघीय संसद् सचिवालयले सिंहदरबारमा आयोजना गरेको सांसदहरूको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले सांसदहरूबीच राम्रो कानुन निर्माण, प्रभावकारी प्रस्तुति र सकारात्मक व्यवहारमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए।

‘हामी सांसद–सांसदबीचको स्वस्थ प्रतिस्पर्धा राम्रो कानुन बनाउने, राम्रो व्यवहार प्रदर्शन गर्ने र प्रभावकारी प्रस्तुति दिने विषयमा हुनुपर्छ। हामी कसरी अझ उत्कृष्ट बन्न सक्छौँ भन्नेमा केन्द्रित हुन आवश्यक छ,’ उनले भने।

सभामुख अर्यालले लाखौँ नेपाली नागरिकको मतबाट निर्वाचित प्रतिनिधिका रूपमा सांसदहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गरे। सांसदहरूको हरेक गतिविधि र व्यवहारलाई जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै उनले जनअपेक्षाअनुसार काम गर्न आग्रह गरे।

‘हामी लाखौँ जनताको मतबाट निर्वाचित जिम्मेवार प्रतिनिधि हौँ। त्यसैले हाम्रो उपस्थिति, व्यवहार, कार्यशैली र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई जनताले सूक्ष्म रूपमा हेरिरहेका छन्। जनताको मूल्यांकनमा अब्बल हुने गरी काम गर्नुपर्छ,’ उनले भने।

अभिमुखीकरण कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवले सांसदहरूलाई आफ्नो संसदीय भूमिका अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे।

सभामुख अर्यालले कार्यक्रममा सबै सांसदको उपस्थिति नभएकोप्रति असन्तुष्टि जनाउँदै यस्ता कार्यक्रमप्रति गम्भीर हुन पनि आग्रह गरे।