रवि लामिछानेलाई साउन २१ गतेका लागि तारिख, सहकारी ठगी मुद्दा कायम

रवि लामिछानेलाई साउन २१ गतेका लागि तारिख, सहकारी ठगी मुद्दा कायम

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध रहेको सहकारी ठगीसम्बन्धी मुद्दामा साउन २१ गतेका लागि साधारण तारिख तोकेको छ। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार लामिछानेलाई कानुनबमोजिम साधारण तारिख दिइएको हो। उक्त दिन सुनुवाइ नहुने भए पनि अदालतमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ।

यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेसहितका प्रतिवादीविरुद्ध लगाइएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन सरकारलाई अनुमति दिएको थियो। जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले अभियोगपत्र संशोधनका लागि सरकारको निवेदन स्वीकृत गरेको हो।

अदालतको उक्त आदेशपछि अब लामिछानेसहित ३९ जना प्रतिवादीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणअन्तर्गतको सहकारी ठगीसम्बन्धी मुद्दा मात्र कायम रहने भएको छ। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्न आदेश दिएको जनाएको छ। यद्यपि लामिछानेमाथिको सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहेको छ।

लामिछानेसँगै यसअघि अदालतमा उपस्थित भएका अन्य प्रतिवादीलाई पनि साउन २१ गतेकै तारिख तोकिएको छ। मुद्दाका प्रतिवादीमध्ये पूर्वडीआईजी छविलाल जोशी तारिख बुझ्न अदालतमा उपस्थित भएका थिए। लामिछाने भने रास्वपाको महाधिवेशनका कारण चितवनमा रहेका छन्।

सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालको निर्णयअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोगपत्र संशोधनका लागि निवेदन दिएको थियो।

सुरुमा लामिछानेको हकमा मात्र मुद्दा फिर्ता गर्ने निर्णय भएपछि आलोचना भएको थियो। त्यसपछि पुनः निर्णय संशोधन गर्दै सबै प्रतिवादीविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोग कायम राख्ने तथा संगठित अपराधसम्बन्धी अभियोग हटाउने निर्णय गरिएको थियो।