भक्तपुरमा बर्डफ्लु पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

भक्तपुरमा बर्डफ्लु पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं । भक्तपुरका विभिन्न कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। पशु सेवा कार्यालयका अनुसार चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका केही कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि नियन्त्रणका लागि व्यापक कदम चालिएको हो।

पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ मा रहेका फार्महरूमा संक्रमण पुष्टि भएपछि ३८ हजार ७९५ वटा कुखुरा नष्ट गरिएको छ। त्यस्तै, सूर्यविनायक नगरपालिका–१, ४ र ८ का फार्महरूमा पनि बर्डफ्लु संक्रमण भेटिएपछि ९ हजार ३७८ वटा कुखुरा नष्ट गरिएको उनले जानकारी दिए। हालसम्म भक्तपुर जिल्लामा बर्डफ्लु नियन्त्रणका लागि कुल ४८ हजार १७३ वटा कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालयले जनाएको छ।

संक्रमण थप फैलिन नदिन प्रभावित फार्महरूमा निगरानी बढाइएको छ भने आवश्यक जैविक सुरक्षा (बायोसेक्युरिटी) उपायहरू अवलम्बन गरिएको कार्यालयले जनाएको छ। पशुपन्छीपालक किसानलाई पनि उच्च सतर्कता अपनाउन र कुनै असामान्य लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।