

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन्।
दोमायाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै विष्णु पौडेललाई तत्काल थुनामुक्त गर्न आदेश जारी गर्न माग गरेकी हुन्।
रिट निवेदनमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ।
सर्वोच्च अदालतले उक्त रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ। यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई गत सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई सोही राति स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो भने मंगलबार अदालतमा उपस्थित गराइएको थियो।
पौडेलमाथि जारी अनुसन्धानको विषयलाई लिएर राजनीतिक तथा कानुनी वृत्तमा व्यापक चासो देखिएको छ।