

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बुधबार बिहान ११ बजेका लागि तय गरिएको बैठक स्थगित भएको जनाएको हो। संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार अब प्रतिनिधिसभाको अर्को बैठक असार १२ गते दिउँसो १ बजे बस्नेछ।
यसअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै संसद् बैठक ६ दिनका लागि सारिएको थियो। महाधिवेशनको कार्यक्रम अपेक्षाभन्दा लम्बिएपछि बैठक पुनः स्थगित गरी शुक्रबारका लागि तय गरिएको हो।
हाल रास्वपाको महाधिवेशन चितवनमा जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरू तथा रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनमा सहभागी भइरहेका छन्। त्यसैलाई ध्यानमा राख्दै संसद् बैठकको मिति परिमार्जन गरिएको बताइएको छ।