

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।
केसीका अनुसार सभापति पदमा प्रतिस्पर्धा नभए पनि केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ताको समय राति १२ बजेसम्म तोकिएको छ।
महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ। चार हजार पाँच सयभन्दा बढी प्रतिनिधिले मतदान गर्ने भएकाले मतदान प्रक्रिया सम्पन्न गर्न करिब आठ घण्टा लाग्ने अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना र नीतिगत मार्गनिर्देशन तय गर्ने अपेक्षा गरिएको छ।