रास्वपा महाधिवेशन : भोलिदेखि पहिलो चरणको मतदान सुरु हुने

रास्वपा महाधिवेशन : भोलिदेखि पहिलो चरणको मतदान सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान भोलि (बुधबार) देखि सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले मंगलबार संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै पार्टी सभापति तथा केन्द्रीय सदस्यहरूको निर्वाचनका लागि बुधबार मतदान गरिने जनाएको हो।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु गरी पहिलो चरणको मतपरिणाम सार्वजनिक गरिनेछ। मतदानको समय भने हालसम्म सार्वजनिक गरिएको छैन। आयोगले दोस्रो चरणको उम्मेदवारी दर्ता तथा अन्य निर्वाचनसम्बन्धी थप कार्यतालिका भने पछि सार्वजनिक गरिने जनाएको छ।

यसअघि मंगलबार उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन, दाबी–विरोध दर्ता, उम्मेदवारीमाथि जाँचबुझ, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनलगायतका कार्य सम्पन्न गरिने कार्यक्रम रहेको छ। निर्वाचन आयोगका अनुसार महाधिवेशनको मौन अवधि मंगलबार राति ११ः४५ बजेदेखि लागू हुनेछ। मौन अवधिमा उम्मेदवार तथा समर्थकहरूले कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाउने छैनन्। रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत हुने निर्वाचनलाई पार्टीको भावी नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।