

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई मंगलबार बिहान ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा पुर्याइएको छ । उनी सोमबार साँझ सुर्खेतबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई राति नै सार्वजनिक बसमार्फत काठमाडौं ल्याइएको थियो । सुरक्षाका कारण देखाउँदै उनलाई बाँकेको नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालयमा नराखी सोझै राजधानी ल्याइएको जनाइएको छ ।
काठमाडौं ल्याएपछि उनलाई कलंकी र बल्खु हुँदै ललितपुरस्थित विभागको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिएका छन् । पौडेललाई आजै अदालतमा उपस्थित गराउने तयारी गरिएको छ । थुनामा राखी थप अनुसन्धान गर्न अनुमति माग गर्न उनलाई अदालतमा पेस गर्न लागिएको हो ।