

काठमाडौं । देशमा मनसुन विस्तार हुँदै जाँदा वर्षाको सम्भावना बढेको छ भने केही स्थानमा अझै तातो दिन तथा तातो हावाको लहर जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा कोसी प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहनेछ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै कोसी प्रदेशको तराई क्षेत्रमा थोरै स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन रहने अनुमान गरिएको छ ।
रातिको समयमा कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोसी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ । मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ ।
त्यसैगरी कोसी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र बागमती तथा गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोसी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
विभागका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने बाँकी भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ ।