मेसीको डबल प्रहारमा अर्जेन्टिना नकआउट चरणमा

मेसीको डबल प्रहारमा अर्जेन्टिना नकआउट चरणमा

काठमाडौं। अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘जे’ अन्तर्गत सम्पन्न खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी नायक बने। उनले खेलका दुवै गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

मेसीले खेलको ३८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उक्त गोलसँगै उनले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरे। यसअघि जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई तोड्दै मेसीले आफ्नो विश्वकप गोल संख्या १७ पुर्‍याएका थिए।

गत साता अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका ३८ वर्षीय मेसीले अष्ट्रियाविरुद्ध त्यसलाई उछिनेका हुन्।

त्यतिमै सीमित नरही मेसीले खेलको इन्जुरी समयमा अर्को गोल थप्दै व्यक्तिगत गोल संख्या १८ पुर्‍याए। उनको दोस्रो गोलले अर्जेन्टिनाको जित सुनिश्चित गर्‍यो।

यस जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा स्थान पक्का गरेको छ। समूह ‘जे’ मा अष्ट्रिया ३ अंकसहित दोस्रो स्थानमा रहेको छ भने जोर्डन र अल्जेरिया अझै अंकविहीन छन्। विश्वकप उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाका लागि मेसीको उत्कृष्ट प्रदर्शनले टोलीलाई थप बलियो बनाएको छ।