रेबिज संक्रमणबाट चन्द्रागिरिका ४८ वर्षीय पुरुषको मृत्यु

रेबिज संक्रमणबाट चन्द्रागिरिका ४८ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंको चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय एक पुरुषको मृत्यु भएको छ।

रेबिजका लक्षण देखिएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो। अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार ती पुरुष असार ५ गते अस्पतालमा भर्ना भएका थिए र उपचारकै क्रममा भोलिपल्ट शनिबार उनको मृत्यु भएको हो।

अधिकारीका अनुसार ती पुरुषले रेबिजविरुद्धको एआरभी खोप लगाएका थिएनन्। उनले रेबिजका लक्षण देखिइसकेपछि रोगको मृत्युदर लगभग शतप्रतिशत हुने बताए।

उनका अनुसार रेबिज संक्रमण भएपछि भाइरसले घाँटी तथा सास फेर्ने नलीका मांसपेशीलाई अत्यधिक कडा बनाउँछ, जसका कारण बिरामीलाई केही निल्न खोज्दा वा पानी देख्दा समेत असह्य पीडा हुन्छ। यही कारणले रेबिज संक्रमित बिरामीमा पानीप्रति तीव्र डर (हाइड्रोफोबिया) देखिने गर्दछ।

अधिकारीले रेबिजले शरीरका विभिन्न अंगहरूको कार्यक्षमता क्रमशः बन्द गराउँदै अन्ततः मृत्यु गराउने बताए।