रास्वपाको महाधिवेशन आज बन्दसत्र: नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदै

रास्वपाको महाधिवेशन आज बन्दसत्र: नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज दोस्रो दिन चितवनमा बन्दसत्र सुरु हुँदैछ। उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजना हुने बन्दसत्र बिहान ८ बजेबाट सुरु गर्ने कार्यतालिका भए पनि प्रतिनिधिहरूको उपस्थिती र नास्ता व्यवस्थापनका कारण केही ढिला गरी प्रारम्भ हुने देखिएको छ।

बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, राजनीतिक तथा संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायतका दस्तावेज प्रस्तुत गरिनेछन्। ती प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गरी आवश्यक निर्णय गर्ने कार्यक्रम रहेको छ।

यसैसँगै नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया पनि अघि बढ्नेछ। रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार औपचारिक निर्वाचन कार्यक्रम दिउँसो १ बजेदेखि सुरु गरिनेछ।

निर्वाचन कार्यतालिका अनुसार बिहान १० बजे महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यसपछि दिउँसो १ बजे उम्मेदवारी मनोनयन फाराम वितरण गरिनेछ भने २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

राति ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारविरुद्ध परेका दाबी–विरोधमाथि जाँचबुझका लागि एक घण्टाको समय छुट्याइएको छ। राति ९ बजेदेखि १५ मिनेटसम्म उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय दिइनेछ भने राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

असार ९ गते बिहान ७ बजेदेखि डेढ घण्टा मौन अवधि कायम गरिनेछ। त्यसपछि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ। विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ। मतदान सम्पन्न भएको करिब दुई घण्टापछि नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

पहिलो चरणको परिणामपछि अन्य पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुनेछ। यसको विस्तृत कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।

महाधिवेशनमा सभापति पदमा रवि लामिछानेलाई सर्वसम्मत रूपमा निरन्तरता दिने तयारी रहेको बताइए पनि निर्वाचन आयोगले औपचारिक निर्वाचन प्रक्रिया भने अगाडि बढाएको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसँगै आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।