जी-७ सम्मेलनपछि ट्रम्प र मेलोनीबीच चर्कियो विवाद

जी-७ सम्मेलनपछि ट्रम्प र मेलोनीबीच चर्कियो विवाद

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग सम्बन्धित सार्वजनिक विवादलाई थप चर्काउँदै जी–७ शिखर सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिच्न अनुरोध गरेको दाबी पुनः दोहोर्‍याएका छन्।

सीएनएनका अनुसार ट्रम्पले आफ्नो भनाइबाट पछि हट्न अस्वीकार गर्दै मेलोनी नै फोटो खिच्न इच्छुक रहेको र आफूले उनको अनुरोध स्वीकार गरेको बताएका छन्।

यो विवाद फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनपछि सुरु भएको हो। इटालीको टेलिभिजन च्यानल ला–७ सँगको अन्तर्वार्तामा ट्रम्पले मेलोनीले आफूलाई फोटोका लागि “बिन्ती” गरेको दाबी गरेका थिए।

ट्रम्पले भनेका थिए, “उनी मसँग फोटो खिच्न निकै इच्छुक थिइन्। म सुरुमा तयार थिइनँ, तर दया लागेर स्वीकार गरेँ।”

तर इटालीकी प्रधानमन्त्री मेलोनीले ट्रम्पको उक्त दाबीलाई अस्वीकार गर्दै यसलाई “पूर्ण रूपमा मनगढन्ते” भनेकी छन्। सामाजिक सञ्जाल एक्समा सार्वजनिक भिडियो सन्देशमार्फत उनले आफू ट्रम्पका भनाइबाट स्तब्ध भएको प्रतिक्रिया दिएकी छन्।

मेलोनीले भनेकी छन्, “डोनाल्ड ट्रम्पका भनाइ पूर्ण रूपमा बनावटी छन्। म स्तब्ध छु। संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले आफ्ना निकट सहयोगी राष्ट्रहरूसँग यस्तो व्यवहार किन गर्छन् भन्ने बुझ्न कठिन छ।”

उनले ट्रम्पमाथि पश्चिमी सहयोगी राष्ट्रप्रति फरक व्यवहार देखाएको आरोपसमेत लगाएकी छन्।

यसैबीच इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले संयुक्त राज्य अमेरिकाको तय गरिएको भ्रमण रद्द गरेका छन्। उनी अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेटवार्ता गर्न जाने कार्यक्रम थियो।

ताजानीले ट्रम्पको अभिव्यक्तिलाई “अपमानजनक” भन्दै त्यसको विरोधस्वरूप भ्रमण स्थगित गरिएको बताएका छन्।

सीएनएनका अनुसार पछिल्लो घटनाले अमेरिका र उसका युरोपेली सहयोगी राष्ट्रबीचको सम्बन्धमा पुनः तनाव उत्पन्न भएको छ। जी–७ सम्मेलनपछि सम्बन्ध सुधार हुने अपेक्षा भए पनि ट्रम्प र मेलोनीबीचको आरोप–प्रत्यारोपले त्यसलाई कमजोर बनाएको विश्लेषण गरिएको छ।