

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा आफूलाई निमन्त्रणा नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी स्थापनाका प्रारम्भिक संघर्षपूर्ण दिनहरूको स्मरण गरेका छन्। नागरिकता संकलनदेखि पार्टी निर्माण र सत्तासम्मको यात्रालाई सम्झँदै उनले उक्त अनुभव आफ्नो जीवनको अविस्मरणीय इतिहास रहने बताएका छन्।
ढकालले पार्टी स्थापना प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति नै ऐतिहासिक महाधिवेशनको निम्तो सूचीमा नपर्नु दुःखद भएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “पार्टी स्थापना गर्ने व्यक्ति महाधिवेशनको निम्तो सूचीमै नपर्नु विडम्बनापूर्ण विषय हो।”
पार्टीविरोधी गतिविधिको आरोपमा रास्वपाबाट निष्कासित भएका ढकालले आफू भौतिक रूपमा महाधिवेशनमा उपस्थित नभए पनि आफ्ना विचार, मूल्य र सिद्धान्तहरू पार्टीभित्र जीवित रहने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनले सही राजनीतिक दिशा तय गरेमा त्यसप्रति आफ्नो समर्थन रहने उनको भनाइ छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले पार्टीलाई व्यक्ति वा पदकेन्द्रित बनाउनुको सट्टा विचार, नीति र संस्थागत मूल्यमा आधारित बनाउन आग्रह गरेका छन्।
उनले भनेका छन्, “महाधिवेशन केवल पद बाँडफाँड वा नेतृत्व चयनको कार्यक्रममा सीमित नहोस्। व्यक्तिभन्दा विचार, गुटभन्दा संस्था र पदभन्दा उद्देश्यलाई प्राथमिकता दिँदै निर्णय गरियोस्।”
चितवनमा आजदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा करिब चार हजार प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना तथा नीतिगत दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।