

काठमाडौं । क्रियाशील दलित पत्रकार सङ्घ नेपालको दोस्रो अधिवेशनबाट प्रकाश धौलाकोटीको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माका अनुसार अधिवेशनले धौलाकोटीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। सङ्घको वरिष्ठ उपाध्यक्षमा केशव भुल, उपाध्यक्षमा विश्वास खड्काथोकी र महासचिवमा विष्णु परियार चयन भएका छन्।
त्यसैगरी सचिवमा जसिन्द्र श्रीपाइली र सम्झना विक तथा कोषाध्यक्षमा सुविन विश्वकर्मा निर्वाचित भएका छन्।
देशभरका दलित समुदायका क्रियाशील पत्रकारलाई एकताबद्ध गर्दै व्यावसायिक हकहित, समावेशी सञ्चारमाध्यम र सामाजिक न्यायका पक्षमा वकालत गर्दै आएको सङ्घको नयाँ कार्यसमितिमा विभिन्न जिल्लाका प्रतिनिधिहरूलाई समेटिएको छ।
केन्द्रीय सदस्यहरूमा अजिरसिंह विक, सरिसा आछामी, शिवराज परियार, सरस्वती सुनार, राजेश भुल, कमल विक, सागर परियार, अञ्जु सुनार, उमेश विश्वकर्मा, लीलामाया ठटाल, लवण श्रीपाली र प्रकाश बिसी चयन भएका छन्। वि.सं. २०७६ सालमा स्थापना भएको सङ्घकी संस्थापक अध्यक्ष पवित्रा सुनार हुन्। दोस्रो अधिवेशनको उद्घाटन राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले गरेका थिए।
अधिवेशनमा नेपाली कांग्रेसका राष्ट्रियसभा सचेतक पदम परियार, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा सचेतक पार्वती विक, नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य सोमनाथ पौडेल, प्रतिनिधिसभा सदस्य गणेश विश्वकर्मा, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमिद बागचन्द, त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्याल, वरिष्ठ पत्रकार हिरा विश्वकर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अधिवेशनका अवसरमा सङ्घले स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त सम्मानसमेत गरेको छ। कोभिड–१९ महामारीका बेला उपचारका लागि आवश्यक आर्थिक अभावका कारण चार वर्षअघि उनको निधन भएको थियो।