

चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच लामो समयदेखि रोकिएको सम्पत्ति हस्तान्तरण प्रक्रिया अघि बढाइएको बताएका छन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई शनिबार चितवनमा सम्बोधन गर्दै मन्त्री पोखरेलले सम्पत्ति हस्तान्तरणसँग सम्बन्धित विषय समाधानउन्मुख रहेको जानकारी दिए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले लामो समयदेखि टुंगिन नसकेको सम्पत्ति हस्तान्तरणको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे। उनले यसका लागि सम्बन्धित विश्वविद्यालयहरूबीच आवश्यक समन्वय र सहकार्य भइरहेको बताए।
उनले सम्पत्ति हस्तान्तरणको प्रक्रिया छिट्टै निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
समारोहमा बोल्दै मन्त्री पोखरेलले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र (सेन्ट्रल एक्सिलेन्स) का रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको पनि बताए। उनले गुणस्तरीय शिक्षा, अनुसन्धानमूलक अध्ययन, आधुनिक पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय सहकार्य, नवप्रवर्तन तथा उद्यमशीलता विकासका क्षेत्रमा सरकारबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री पोखरेलले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई कृषि तथा वन क्षेत्रको उच्च शिक्षा र अनुसन्धानको अग्रणी संस्थाका रूपमा स्थापित गर्न आवश्यक सहयोग उपलब्ध गराइने समेत बताए।