

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
महानगरका मेयर धनराज आचार्यले बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि शुक्रबार उपमेयर मञ्जुदेवी गुरुङले १९औँ नगर सभामा बजेट सार्वजनिक गरेकी हुन्।
महानगरले आगामी वर्षलाई “समुन्नत पर्यटकीय पोखरा” निर्माण गर्ने लक्ष्यसहित अघि बढाउने बताएको छ। प्रस्तुत बजेटमा चालु खर्च ५५.१ प्रतिशत र पूँजीगत खर्च ४४.९ प्रतिशत रहने व्यवस्था गरिएको छ।
बजेटका लागि संघीय र प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोत प्रमुख आधार रहने जनाइएको छ।
संघीय सरकारबाट सशर्त, विशेष, पूरक तथा समानीकरण अनुदानसहित कुल ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट भने समानीकरण, विशेष र समपूरक अनुदानसहित ९ करोड १५ लाख ३६ हजार रुपैयाँ आउने अपेक्षा गरिएको छ।
त्यस्तै, महानगरले आन्तरिक तथा अन्य स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।
राजस्व बाँडफाँटतर्फ संघीय सरकार, प्रदेश सरकार र स्थानीय स्रोतबाट प्राप्त हुने रकम जोड्दा कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा पोखरा महानगरले ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो। त्यसको तुलनामा आगामी वर्षको बजेट केही घटेर प्रस्तुत गरिएको हो।