कक्षा १२ को नतिजा सार्वजनिक, परीक्षा सकिएको ३५ दिनमै बोर्डद्वारा नतिजा प्रकाशन

कक्षा १२ को नतिजा सार्वजनिक, परीक्षा सकिएको ३५ दिनमै बोर्डद्वारा नतिजा प्रकाशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गर्दै यस वर्ष नतिजा प्रकाशन प्रक्रियालाई तीव्र बनाएको हो।

गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थी रहेका थिए।

नियमिततर्फ परीक्षामा सहभागी हुनेमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा तथा २९० जना अन्य परीक्षार्थी रहेका थिए।

बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि नेपालभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएका थिए। सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौं जिल्लामा १६१ वटा रहेका थिए भने मनाङ र मुस्ताङमा एक–एक वटा मात्रै परीक्षा केन्द्र सञ्चालन गरिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई आफ्नो नतिजा बोर्डको आधिकारिक प्रणालीमार्फत हेर्न अनुरोध गरेको छ।