

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनु सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले दुवै विमानस्थल सञ्चालनका लागि भारत र चीनसँग कूटनीतिक पहल भइरहेको जानकारी दिए।
उनले परराष्ट्रमन्त्री शिशिर खनालको भारत तथा चीन भ्रमणका क्रममा विमानस्थल सञ्चालन, हवाई मार्ग विस्तार, हवाई सम्पर्क सुदृढीकरण तथा व्यवस्थापनका विषयलाई प्रमुख एजेन्डाका रूपमा उठाइएको बताए। अर्थमन्त्री वाग्लेले दुवै विमानस्थल निर्माणका लागि लिइएको ऋणको दायित्व सरकारकै भएकाले तिनलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सरकार गम्भीरतापूर्वक लागिपरेको बताए।
उनले भने, “भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन हामी निरन्तर प्रयासरत छौँ। पोखरा र भैरहवा विमानस्थलको ऋण तिर्ने जिम्मेवारी पनि सरकारकै हो। ती ऋणका किस्ता भुक्तानीसम्बन्धी फाइलहरू हरेक दिन हेर्नुपर्छ। त्यसैले दुवै विमानस्थललाई जतिसक्दो छिटो पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयासमा छौँ।”
उनले परराष्ट्रमन्त्रीको भारत र चीन भ्रमणमा पनि यो विषयलाई प्राथमिकताका साथ उठाइएको उल्लेख गरे। वाग्लेले विगतमा उठाउन नसकिएका तथा समाधान हुन नसकेका विषयमा समेत सरकारले सक्रिय रूपमा संवाद र पहल गरिरहेको दाबी गरे। राष्ट्रिय हितसँग सम्बन्धित विषयमा सरकार दृढतापूर्वक अघि बढिरहेको उनको भनाइ थियो।