भारतीय अवरोधपछि चिया उद्योग बन्द गर्ने उद्योगीको घोषणा

भारतीय अवरोधपछि चिया उद्योग बन्द गर्ने उद्योगीको घोषणा

बनियानी । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग र चिया बगान बन्द गर्ने घोषणा गरेका छन्।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चियाको भारत निर्यात प्रभावित भएपछि उद्योगीहरू यस्तो निर्णयमा पुगेका हुन्।

नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालका अनुसार नेपालमा उत्पादन हुने सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको छ। त्यसमध्ये करिब पाँच अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको थियो।

नेपाल चिया उत्पादक सङ्घ झापाले मंगलबार भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै भोलिदेखि उद्योग र बगान बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो।

उद्योगीहरूले भारतमा देखिएको निर्यात अवरोधका कारण वैकल्पिक बजारको खोजी गर्न सरकारसँग आग्रह गरेका छन्। बङ्गलादेश, पाकिस्तानलगायत तेस्रो मुलुकमा नेपाली चिया निर्यातको सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ।

चिया क्षेत्रले देशभर करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। साथै, यस क्षेत्रबाट वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व संकलन हुने गरेको उद्योगीहरूको भनाइ छ।

उद्योगीहरूले निर्यात समस्या समाधानका लागि तत्काल पहल नभए चिया क्षेत्र थप सङ्कटमा पर्ने चेतावनी दिएका छन्।