होल्डिङ सेन्टरमा सुकुम्बासीलाई खानापानी नदिएको आरोप, सभामुखको ध्यानाकर्षण

होल्डिङ सेन्टरमा सुकुम्बासीलाई खानापानी नदिएको आरोप, सभामुखको ध्यानाकर्षण

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई सरकारले खानापानी उपलब्ध नगराएको आरोप लगाएका छन्।प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको सुरुमै आफ्नो धारणा राख्दै उनले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरू भोकै बस्न बाध्य भएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरे। उनले सुकुम्बासीलाई भोकै राखिएको विषयप्रति सभामुखको ध्यानाकर्षण समेत गराएका थिए।

सोही बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गर्दै सभामुखको रुलिङ आवश्यक रहेको बताएका थिए। तर सभामुख डोलप्रसाद अर्यालले रुलिङ नगरेको भन्दै विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्।

बैठकको सुरुमै विपक्षी सांसदहरूले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विरोध जनाएका थिए। नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिबारे रुलिङको माग गरेका थिए भने नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखको पूर्व राजनीतिक सम्बन्धलाई लिएर टिप्पणी गरेका थिए।

सभामुख अर्यालले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रतिनिधिसभा नियमावलीको प्रावधानअनुसार प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।