

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालमाथि विपक्षी सांसदले उठाएको प्रश्नपछि सभामुखले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्। बुधबारको बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विवादित अभिव्यक्तिमा सभामुखले रुलिङ नगरेको भन्दै प्रश्न उठाएका थिए। सोही क्रममा उनले सभामुखको पूर्व राजनीतिक संलग्नताबारे पनि टिप्पणी गरेका थिए।
यादवले सभामा भने, “स्वयम् सभामुख महोदयसँग एउटा प्रश्न छ। सभामुख महोदय, हाम्रो गरिमामय कुर्सीमा बस्नुभन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो। के सभामुख महोदयले अहिलेसम्म त्यो पार्टीसँगको नाता पूर्ण रूपमा तोड्न सक्नुभएको छैन कि क्या हो?”
उनको उक्त अभिव्यक्तिप्रति रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति जनाएका थिए। उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ अनुसार सभामुखको आचरणमाथि प्रश्न उठाउन निश्चित प्रक्रिया बाहेक अन्य अवस्थामा आलोचना गर्न नपाइने व्यवस्था रहेको स्मरण गराएका थिए।
त्यसपछि सभामुख अर्यालले सो विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नियमावलीको प्रावधानतर्फ सांसदहरूको ध्यानाकर्षण गराएका थिए।
सभामुख अर्यालले भने, “माननीय सदस्य चन्द्रमोहन यादवले बोलेका शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ। प्रतिनिधिसभा नियमावलीको नियम २१ तर्फ माननीय सदस्यहरूको ध्यानाकर्षण गराउँछु।” नियमावलीअनुसार सभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्तावको छलफलबाहेक सभामुखको आचरणमाथि प्रत्यक्ष आलोचना गर्न नपाइने व्यवस्था रहेको छ।