गेरुवा गाउँपालिकामा निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न

गेरुवा गाउँपालिकामा निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न

नेपालगञ्ज । बर्दियाको गेरुवा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ। गेरुवा गाउँपालिकाको सहयोग तथा बास नेपालको सहजीकरणमा लक्षित वर्ग उत्थान कार्यक्रमअन्तर्गत प्रशासन सेवातर्फ चौथो र पाँचौँ तह वा सो सरहका पदका लागि सञ्चालन गरिएको ३० दिने लोकसेवा तयारी कक्षाको आइतबार समापन गरिएको हो।

समापन कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे। स्थानीय युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रमले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न तथा सरकारी सेवामा प्रवेश गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्थानीय सरकारको पहलमा युवाहरूलाई आफ्नै क्षेत्रमा लोकसेवा तयारी कक्षाको अवसर उपलब्ध गराइएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गरे। विगतमा यस्ता कक्षाका लागि देशका विभिन्न सहर धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले आफ्नै गाउँमा अध्ययन गर्ने अवसरलाई सदुपयोग गर्न सहभागीहरूलाई सुझाव दिए।

सहभागी विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै सनिश थारुले आफ्नै गाउँमा लोकसेवा तयारी कक्षामा सहभागी हुने अवसर प्रदान गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरे। तालिमबाट लोकसेवा परीक्षाका लागि आवश्यक महत्वपूर्ण जानकारी र उपयोगी सुझाव प्राप्त भएको उनले बताए।

कार्यक्रममा सहभागीहरूलाई गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले प्रमाणपत्र र लोकसेवा तयारीसम्बन्धी पुस्तक वितरण गरेका थिए।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, सामाजिक विकास संयोजक तथा वडा नं. ३ का अध्यक्ष निर्मलकुमार चौधरी, बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, गाउँपालिकाका लेखा अधिकृत सुदीप सिग्देललगायतको उपस्थिति रहेको थियो।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन गेरुवा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख रमा पुन मगरले गरेकी थिइन्।