

काठमाडौं । नेकपाका सांसद रमेश मल्लले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले कर्णाली प्रदेशलाई बजेटमा न्याय गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसअनुसार बजेट नआएको बताए।
“कर्णालीका जनप्रतिनिधिहरूसँग छलफलका क्रममा प्रधानमन्त्री शाहले कर्णालीलाई बजेटमा अन्याय नहुने बताउनुभएको थियो,” मल्लले भने, “तर उहाँले भन्नुभएजस्तो कर्णालीको हितमा बजेट आएको छैन। यसप्रति सरकारको ध्यानाकर्षण गराउँछु।”
उनले सत्तारुढ दल रास्वपाले जनप्रतिनिधि मन्त्रालय धाउन नपर्ने, सरकारले नै आवश्यक व्यवस्था गर्ने बताएको भए पनि बजेटमा कर्णालीलाई उपेक्षा गरिएको दाबी गरे।
मल्लका अनुसार बजेट निर्माणका क्रममा कर्णालीका जनप्रतिनिधिहरूले पूर्वाधार विकास मन्त्रालयमा पुगेर तीन वटा सडक योजना सिफारिस गरेका थिए। तर ती योजना रातो किताबमा समावेश नभएको उनले बताए।
“हामीलाई मन्त्रालयले बोलाएपछि लाइनमा बसेर योजना बुझायौँ,” उनले भने, “मन्त्रीले ‘ठीक छ, गरिन्छ’ भन्नुभएको थियो। तर अहिले बजेटमा ती कुनै पनि योजना देखिएनन्।”