आजकाे संसद् बैठक : १२ मन्त्रालयको बजेटमाथि एकीकृत छलफल

आजकाे संसद् बैठक : १२ मन्त्रालयको बजेटमाथि एकीकृत छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको विनियोजन विधेयकमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची रहेको छ।

कार्यसूचीअनुसार आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ।

बैठकमा विभिन्न सांसदहरूले विनियोजन विधेयक, २०८३ अन्तर्गत आ–आफ्ना मन्त्रालयका शीर्षकमा खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। गुरुप्रसाद बरालले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको बजेट घटाउने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसैगरी रमेश कुमार मल्लले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेट घटाउने प्रस्ताव राख्नेछन्।

यसैगरी मोहम्मद इश्तियाक राईले पूर्वाधार विकास मन्त्रालयको बजेट घटाउन प्रस्ताव पेश गर्नेछन् भने बलावती शर्माले पनि सोही मन्त्रालयको शीर्षकमा खर्च घटाउने प्रस्ताव राख्नेछिन्। विष्णुमाया वि.क.ले गृह मन्त्रालयको बजेट घटाउन प्रस्ताव प्रस्तुत गर्नेछिन्। बैठकको अन्त्यमा सभामुखले पूर्व प्रतिनिधिसभा सदस्य मंगलप्रसाद गुप्ताको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।