

काठमाडौं । नेपाल र चीनले पारस्परिक सम्मान, एकअर्काका प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल गरेका छन्।
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय राजनीतिक ब्युरो सदस्य वाङ यीबीच सोमबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार वार्ताका क्रममा पूर्वाधार विकास, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणलगायतका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल भएको थियो।
वार्तामा दुवै पक्षले मित्रता, सद्भाव र सहकार्यमा आधारित नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान गरेका थिए। नेपाली पक्षले ‘एक चीन नीति’प्रति आफ्नो अडान पुनः दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।
त्यसैगरी, चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो समर्थन दोहोर्याउँदै सुशासन र आर्थिक विकासका प्राथमिकतामा नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएको छ।
मन्त्रालयका अनुसार दुवै देशले यसअघि भएका सहमति र परियोजनाहरूको शीघ्र कार्यान्वयनमा जोड दिएका छन्। साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा साझा चासोका विषयमा सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। वार्तापछि मन्त्री खनालले विदेशमन्त्री वाङले आयोजना गरेको सम्मानार्थ रात्रिभोजमा सहभागिता जनाएका थिए।
यसअघि मन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग पनि भेटवार्ता गरेका थिए। भेटमा पार्टी–पार्टी सम्बन्ध तथा नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो।
सोमबार नै मन्त्री खनालले बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गतको इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चको भ्रमण गरी त्यहाँका गतिविधि तथा नेपाली शैक्षिक संस्थासँग भइरहेको सहकार्यबारे जानकारी लिएका थिए।
भ्रमणका क्रममा उनले विज्ञान तथा प्रविधिको क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।