

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहलाई आफ्ना मन्त्रीहरूको अभिव्यक्तिमा संयम कायम गर्न आग्रह गरेका छन्। भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदारको “खुट्टा भाँचिदिनु” भन्ने अभिव्यक्ति दिएपछि शर्माले भिडियो सन्देशमार्फत प्रतिक्रिया जनाएका हुन्।
शर्माले कानूनको शासन भएको मुलुकमा हिंसात्मक वा उग्र अभिव्यक्तिले गलत सन्देश प्रवाह गर्ने भन्दै राजनीतिक नेतृत्वले जिम्मेवार बोली र व्यवहार प्रदर्शन गर्नुपर्ने बताएका छन्। “एक जना मन्त्रीज्यू सडकमा पुगेर बाटो निर्माणमा ढिलाइ भइरहेको भन्दै ठेकेदार भेट्नुभयो भने खुट्टा भाँचिदिनुस् भन्नुभएछ,” उनले भने, “केही दिनअघि धनगढीमा एक श्रमिक महिलाको टेम्पोलाई कर्मचारीहरू मिलेर भीरबाट धकेलिएको समाचार पनि आयो।”
उनले मधेस प्रदेशको सिराहास्थित एक परीक्षा केन्द्रमा बरामद गरिएका पाँच सयभन्दा बढी मोबाइल फोन पानीमा डुबाएर नष्ट गरिएको घटनाको पनि स्मरण गरे। समाजमा बढ्दो आक्रामक प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै शर्माले प्रधानमन्त्री शाहलाई प्रत्यक्ष प्रश्न गरेका छन्।
“समाज कता जाँदै छ ?” उनले भने, “निर्वाचनका बेला तपाईंले पनि बाटो निर्माणमा ढिलाइ भए रुखमा बाँधेर समाधान गर्नुपर्छ भन्नुभएको थियो। म एउटा देशको घटना सम्झन्छु, जहाँ चोरी गरेको आरोपमा व्यक्तिका दुवै हात काटिएको थियो। के हामी त्यस्तै प्रकारको समाजतर्फ अघि बढिरहेका छौँ ?”
शर्माले कानूनी प्रक्रिया र विधिको शासनलाई कमजोर पार्ने खालका अभिव्यक्ति तथा व्यवहारबाट सबै राजनीतिक नेतृत्व सचेत हुनुपर्नेमा जोड दिएका छन्। उनले समस्याको समाधान कानून, नीति र संस्थागत प्रक्रियामार्फत खोजिनुपर्ने धारणा व्यक्त गरेका छन्।