

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचन समिति संयोजक भरतप्रसाद (बीपी) दाहालका अनुसार वर्तमान प्रदेश सभापति मदन खड्का, प्रदेश कोषाध्यक्ष स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके)ले सभापति पदका लागि उम्मेदवारी दिएका हुन्।
निर्धारित समयभित्र सभापति पदमा तीन जनाको मात्रै उम्मेदवारी परेको दाहालले जानकारी दिए। निर्वाचन प्रक्रियाअन्तर्गत पहिलो चरणमा सदस्य र सभापति पदका लागि मनोनयन दर्ता खुला गरिएको थियो।
अन्य पदका लागि भने दोस्रो चरणमा मनोनयन दर्ता प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।
रास्वपाको कर्णाली प्रदेश नेतृत्व चयनका लागि जारी अधिवेशनअन्तर्गत सभापति पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको छ।