गृहमन्त्री पुनः नियुक्तिमा कांग्रेस सांसद खड्काको आपत्ति

गृहमन्त्री पुनः नियुक्तिमा कांग्रेस सांसद खड्काको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाइएकोप्रति आपत्ति जनाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले सम्पत्ति लगायतका विषयमा प्रश्न उठेका तथा राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्नुपर्ने सिफारिस गरेको अवस्थामा गुरुङलाई पुनः जिम्मेवारी दिइनु आपत्तिजनक भएको बताए।

उनले भने, ‘माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्तिसम्बन्धी विषयमा प्रश्न उठेपछि छानबिन समिति बनाइयो। सुनिन्छ, उक्त समितिले उहाँलाई चोख्यायो रे! तर प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री बनाइयो।’

सरकारले सुशासनको नारा दिए पनि आफ्ना निकट व्यक्तिहरूलाई जोगाउने र पुरस्कृत गर्ने काम भइरहेको उनको आरोप छ। उनले भने, ‘एकातिर सुशासनको नारा, अर्कोतिर आफ्नालाई पुरस्कृत गर्ने काम भइरहेको छ।’

सांसद खड्काले दोषीमाथि कारबाही गर्नुको साटो संरक्षण गर्ने प्रवृत्ति देखिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

यसैबीच उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने आफ्नो अडान पनि दोहोर्याएका छन्।