समता र सामाजिक न्यायलाई केन्द्रमा राखेर बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

समता र सामाजिक न्यायलाई केन्द्रमा राखेर बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समुन्नतिलाई केन्द्रमा राखेर प्रस्तुत गरेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले बजेटले आर्थिक वृद्धि र समानताबीच सन्तुलन कायम गर्ने लक्ष्य लिएको बताए।

विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट ल्याइएको आरोप लगाएकोप्रति प्रतिक्रिया दिँदै उनले उक्त आरोपको खण्डन गरे। बजेटले समन्यायिक समुन्नति र समृद्धिलाई प्राथमिकता दिएको उनको भनाइ थियो। उनले बजेटमा ‘समाजवाद’ शब्द स्पष्ट रूपमा उल्लेख नगरिए पनि समताको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम समेटिएको बताए।

अर्थमन्त्री वाग्लेले सरकार आफ्नो पाँचवर्षीय प्रतिबद्धता तथा जनताले अनुमोदन गरेको एजेन्डाप्रति दृढ रहेको उल्लेख गर्दै नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेटबीच उच्च स्तरको सामञ्जस्य रहेको दाबी गरे। उनले भने, “हामीले पाँच वर्षका लागि जनतासमक्ष गरेका प्रतिबद्धता र जनताले अनुमोदन गरेका एजेन्डालाई नै केन्द्रमा राखेर कार्यक्रम अघि बढाएका छौँ। त्यसप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।” विपक्षी दलहरूलाई लक्षित गर्दै उनले आफ्ना दलका एजेन्डाअनुसार बजेट नआएको भन्दै असन्तुष्टि व्यक्त गर्ने अधिकार सबैलाई रहेको पनि बताए।