करका दरमा हेरफेर गर्नु राजद्रोहसरह हो : निस्कल राई

करका दरमा हेरफेर गर्नु राजद्रोहसरह हो : निस्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सांसद निस्कल राईले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर भन्दै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

बिहीबार विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दरमा पटक–पटक परिवर्तन गरेको आरोप लगाउँदै त्यसलाई गैरकानुनी मात्र नभई राजद्रोहसरहको कार्य भएको टिप्पणी गरे।

राईले संसद्मा पेस भइसकेको आर्थिक विधेयक कार्यकारी निर्णयमार्फत कसरी परिवर्तन गरियो भन्ने प्रश्न उठाए। “अर्थमन्त्रीज्यूले संसद्को अधिकारमाथि हस्तक्षेप गर्नुभएको हो कि? आर्थिक विधेयकमा मनपरी फेरबदल गर्नुभएको हो कि?” उनले प्रश्न गरे।

उनका अनुसार कुनै पनि विधेयक संसद्मा दर्ता भएपछि त्यो संसद्को सम्पत्ति बन्छ र त्यसमा संसद्को स्वीकृतिबिना सरकारले परिवर्तन गर्न सक्दैन।

“यो अक्षम्य गल्ती किन भयो र कसको स्वार्थमा भयो? सदनमा आएको विषयको समाधान पनि सदनबाटै हुनुपर्दैन र?” उनले भने, “अर्थमन्त्रीको यो कदम विधि निर्माणको सिद्धान्तविपरीत मात्र होइन, संसद्को स्वीकृतिबिना कर लगाउन नपाइने संवैधानिक मान्यताविपरीत पनि छ।”

सांसद राईले उक्त विषयमा सत्यतथ्य सार्वजनिक गर्न र जिम्मेवार व्यक्तिमाथि आवश्यक कारबाही गर्न माग गर्दै निष्पक्ष छानबिनको आवश्यकता औँल्याए।