

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि जारी छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि तीखा टिप्पणी गरेका छन्।
सांसद सिंहले सरकारले कार्यान्वयन गर्न कठिन हुने खालको बजेट प्रस्तुत गरेको आरोप लगाउँदै बजेटले आम नागरिक, विशेषगरी गरिब वर्गलाई राहत दिन नसकेको बताए।
उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्य र शिक्षाको अधिकारसम्बन्धी सेवामा समेत करको भार थपिएको भन्दै असन्तुष्टि व्यक्त गरे। अर्थमन्त्रीप्रति लक्षित गर्दै सिंहले बूढानीलकण्ठ विद्यालयमा अध्ययन गरेका व्यक्तिले जनताको आधारभूत अधिकारसँग जोडिएका क्षेत्रमा कर लगाउनु उचित नभएको टिप्पणी गरे।
सिंहले प्रस्तुत बजेट व्यवहारिकभन्दा पनि महत्वाकांक्षी देखिएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनबारे समेत प्रश्न उठाए। उनले बजेटले आर्थिक रूपमा कमजोर वर्गका नागरिकको हितभन्दा करको बोझ बढाउने काम गरेको आरोप लगाए।