

विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति जहदा गाउँपालिका–७ स्थित सीमाक्षेत्रबाट ९२२ केजी गाँजासहित एक पिकअप गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार लक्ष्मनियाबाट तारेगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई बिआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकलले स्कटिङ गरिरहेको अवस्थामा शंका लागेपछि सुरक्षाकर्मीले पछ्याएका थिए।
सुरक्षाकर्मीको निगरानीपछि गाडी र मोटरसाइकलका चालकहरू सवारीसाधन छाडेर फरार भएका थिए।
तलासीका क्रममा पिकअपभित्र धानको भुसका बोराले छोपेर लुकाइएको अवस्थामा २९ वटा पोकामा राखिएको ९२२ केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गाँजा, पिकअप गाडी र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ। प्रहरीले फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।