संसद् अवरोधप्रति हर्क साम्पाङको क्षमायाचना, संसद्को गरिमा जोगाउन सबैलाई आग्रह

संसद् अवरोधप्रति हर्क साम्पाङको क्षमायाचना, संसद्को गरिमा जोगाउन सबैलाई आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको घटनाप्रति क्षमा मागेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएका थिए। त्यसपछि विभिन्न दलका सांसदहरूले धारणा राख्ने क्रममा श्रम संस्कृति पार्टीलाई बोल्ने समय नदिइएको भन्दै साम्पाङसहितका सांसदहरूले रोस्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए।

सभामुख डोलप्रसाद अर्यालले उक्त पार्टीबाट बोल्न समय माग नगरिएको र नामसमेत टिपाइएको नभएकाले सुरुमा बोल्न अवसर नदिएको बताएका थिए। त्यसपछि भएको नाराबाजीका बीच सभामुखले बैठक सञ्चालन जारी राखेका थिए।

पछि सभामुखले बोल्ने अवसर दिने प्रतिबद्धता जनाएपछि श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानमा फर्किएका थिए। त्यसलगत्तै पार्टीको तर्फबाट बोल्ने सांसदको नाम टिपाइएपछि अध्यक्ष साम्पाङले सदनमा धारणा राखेका थिए।

साम्पाङले प्रधानमन्त्री शाह स्वयं संसद्मा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने माग गर्दै त्यसका लागि सभामुखबाट आवश्यक रुलिङ हुनुपर्ने बताए। आफ्नो मन्तव्यको अन्त्यमा उनले संसद्को कामकारबाहीमा असहजता उत्पन्न भएको स्वीकार गर्दै क्षमायाचना गरे।

“हामी श्रम संस्कृति पार्टीका कारण आजको संसद् बैठकमा केही असुविधा भएको हुन सक्छ। त्यसका लागि हामी क्षमा माग्छौँ,” साम्पाङले भने।

उनले संसद्को गरिमा र मर्यादा जोगाउन सबै राजनीतिक दल तथा सांसदहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै आफ्नो पार्टी पनि त्यसप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।