सनातन राज्यको पक्षमा बोलेपछि ज्यान मार्ने र बलात्कारको धम्की आएको सांसद खुश्बु ओलीको आरोप

सनातन राज्यको पक्षमा बोलेपछि ज्यान मार्ने र बलात्कारको धम्की आएको सांसद खुश्बु ओलीको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले नेपाललाई पुनः सनातन हिन्दु राज्य बनाउनुपर्ने धारणा राखेकै कारण आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने र बलात्कार गर्ने धम्की आएको बताएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले सनातन हिन्दु राज्यको पक्षमा अभिव्यक्ति दिएपछि केही इसाई धर्मावलम्बीबाट योजनाबद्ध रूपमा धम्की आएको आरोप लगाइन्।

नेपालमा ९० प्रतिशतभन्दा बढी नागरिक सनातन परम्परामा आस्था राख्ने उल्लेख गर्दै उनले संविधानले सुनिश्चित गरेको अधिकारका आधारमा नेपाललाई पुनः सनातन राज्य बनाउनुपर्ने विषय सदनमा उठाएको बताइन्।

“नेपाललाई सनातन राज्य हुनुपर्छ भन्ने कुरा मैले यस सदनमा उठाउँदा सामाजिक सञ्जालमार्फत ज्यान मार्ने र बलात्कार गर्ने धम्की आइरहेको छ,” ओलीले भनिन्।

उनले यस्ता धम्कीलाई व्यक्तिगत रूपमा सामना गर्न सक्ने भए पनि यसलाई आफ्नो मात्र नभई सम्पूर्ण सनातनी समुदायमाथिको आक्रमणका रूपमा लिनुपर्ने धारणा राखिन्।

ओलीले धर्मका आधारमा घृणा, धम्की र हिंसात्मक अभिव्यक्ति फैलाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिमाथि सम्बन्धित निकायले आवश्यक ध्यान दिनुपर्ने बताइन्।