सरकार सञ्चालन पार्टीको विधानले नभई देशको संविधान र कानुनअनुसार चल्नुपर्छ : गगन थापा

सरकार सञ्चालन पार्टीको विधानले नभई देशको संविधान र कानुनअनुसार चल्नुपर्छ : गगन थापा

गोरखा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार सञ्चालन पार्टीको विधानले नभई देशको संविधान र कानुनअनुसार हुनुपर्ने बताएका छन्।

मंगलबार गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई पाँच वर्ष शासन गर्ने जनादेश प्राप्त भएकाले संविधानको मर्मअनुसार काम गर्नुपर्ने बताए।

उनले भने, “रास्वपाभित्र के हुन्छ, के हुँदैन भन्ने हाम्रो सरोकारको विषय होइन। उहाँहरूले पाँच वर्ष सरकार चलाउने अवसर पाउनुभएको छ। तर सरकार पार्टीको विधानले होइन, देशको विधान र संविधानले चल्छ।”

थापाले संविधान र कानुनअनुसार सरकार चलेको छ कि छैन भन्ने निगरानी गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसको भएको बताए। सरकारका सकारात्मक काममा सहयोग गर्ने र कमजोरी देखिए प्रश्न उठाउने कांग्रेसको दायित्व रहेको उनको भनाइ थियो।

उनले २०४६ सालपछि सत्तामा रहेका र प्रतिपक्षमा बसेका दलहरूले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको टिप्पणी गर्दै राजनीतिक दलहरूमा सत्तामोह बढ्दा समस्या सिर्जना भएको बताए।

सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने विषयमा कांग्रेस सुरुदेखि नै स्पष्ट रहेको उल्लेख गर्दै थापाले सरकारले थालेका छानबिन प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यद्यपि, छानबिन आयोग गठनको प्रक्रियाबारे केही प्रश्न रहेको बताउँदै उनले आवश्यक ठाउँमा जवाफ खोजिने बताए।

गृहमन्त्री सुधन गुरुङप्रति संकेत गर्दै थापाले छानबिन निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा जोड दिए। उनले सुशासन स्थापनाको आवश्यकता औंल्याउँदै सरकारले गरेका प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्न आग्रह समेत गरे।