आजदेखि रास्वपाको प्रदेश अधिवेशन सुरु, बागमतीबाट शुभारम्भ

आजदेखि रास्वपाको प्रदेश अधिवेशन सुरु, बागमतीबाट शुभारम्भ

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। वडा, पालिका र जिल्ला तहका अधिवेशन सम्पन्न गरेपछि पार्टी प्रदेश अधिवेशनमा प्रवेश गर्न लागेको हो।

रास्वपाले जेठ २६ गतेदेखि असार १ गतेसम्म सबै प्रदेशका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। यद्यपि, आन्तरिक विवादका कारण केही जिल्लामा जिल्ला अधिवेशन भने अझै सम्पन्न हुन सकेको छैन।

प्रदेश अधिवेशनको सुरुआत बागमती प्रदेशबाट हुने भएको छ। हेटौँडामा आयोजना हुने बागमती प्रदेश अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ।

रास्वपाका अनुसार सभापति लामिछानेले बागमती प्रदेश अधिवेशन उद्घाटन गरेपछि अन्य प्रदेशका अधिवेशनहरू पनि क्रमशः सुरु हुनेछन्। अधिवेशनका लागि पार्टीका केन्द्रीय नेताहरू विभिन्न प्रदेशमा खटिएका छन्।

रास्वपाले प्रदेश अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

यसैबीच, पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने तयारी गरिएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै भावी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।