काठमाडौं । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी साउन महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। आयोजनाका अनुसार आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए। उनका अनुसार टोल शुल्क संकलन गर्ने कम्पनीसँग सम्झौता भइसकेको छ भने कर्मचारी तालिम र प्राविधिक परीक्षणको काम पनि जारी छ।
सुरुङमार्गभित्रको सुरक्षा व्यवस्था, उद्धार प्रणाली, प्रकाश व्यवस्था (लाइटिङ), भेन्टिलेसन तथा आपत्कालीन अवस्थाको व्यवस्थापनसम्बन्धी तयारी तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ।
सुरुङमार्ग चौबिसै घण्टा सञ्चालन गर्न १५० जना कर्मचारी नियुक्त गरिएको छ। उनीहरूलाई सिफ्टअनुसार परिचालन गरिनेछ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको जानकारी दिएका छन्।
सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भारका लागि आयोजना र सेवा प्रदायक युसिन–एआरटी जेभीबीच पाँच वर्षका लागि सम्झौता भइसकेको छ। कम्पनीले सुरुङभित्रका सिभिल, मेकानिकल, विद्युतीय तथा सुरक्षा प्रणालीको नियमित सञ्चालन र मर्मतसम्भार गर्नेछ।
मुख्य सुरुङमार्गको लम्बाइ २ हजार ६८८ मिटर रहेको छ भने आपत्कालीन सुरुङ २ हजार ५५७ मिटर लामो छ। आयोजनाले दैनिक करिब ८ हजार सवारीसाधन सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरेको छ।
दैनिक ८ हजार सवारीसाधन आवतजावत गरेमा वार्षिक करिब ३५ करोड रुपैयाँ टोल शुल्क संकलन हुने अनुमान गरिएको छ। सेवा प्रदायक कम्पनीलाई वार्षिक २२ करोड रुपैयाँका दरले पाँच वर्षमा कुल १ अर्ब १० करोड रुपैयाँ भुक्तानी गरिनेछ।
टोल शुल्क संकलनका लागि आधुनिक प्रविधियुक्त उपकरण जडान गरिएको छ। संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ भने सेवा प्रदायकलाई सरकारले भुक्तानी गर्ने व्यवस्था गरिएको छ।
संसदीय समितिका सदस्यहरूले निर्माण सम्पन्न भइसकेको आयोजनालाई थप ढिलाइ नगरी सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले सुरुङमार्ग निर्माणबाट प्राप्त अनुभव र सीपलाई अन्य पूर्वाधार आयोजनामा समेत उपयोग गर्न सुझाव दिएका छन्।