कतै वर्षा र हिमपात, कतै अत्यधिक गर्मीको सम्भावना

कतै वर्षा र हिमपात, कतै अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न क्षेत्रमा फरक–फरक मौसमीय अवस्था देखिने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ भने तराईका केही क्षेत्रमा अत्यधिक गर्मी हुने अनुमान गरिएको छ।

महाशाखाले आइतबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार हाल बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली छ भने अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन्।

दिउँसो कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित अन्य पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेश प्रदेशसहित अन्य पहाडी र हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यता मधेश प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन तथा अत्यधिक गर्मीको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली तथा मधेश प्रदेश र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा मौसम मुख्यतः सफा रहने अनुमान छ।

रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। ती क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।