

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी सचिवालयले हालै गरेको कार्यविभाजनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बास्कोटाले पार्टीभित्र सोच्ने र नीति निर्माण गर्नेभन्दा पनि आदेश पालना गर्ने संस्कृतिलाई प्राथमिकता दिइएको संकेत गरेका छन्।
उनले लेखेका छन्, ‘न एस्ट्रोनोमी, न फिजिक्स, न केमेस्ट्री, न बायोलोजी, न त जुलोजी। अर्थमेटिक, अल्जेब्रा, ज्योमेट्री, इन्जिनियरिङको कुनै हाँगो थाहा छैन। तर एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक संगठनमा जस्तै।’
बास्कोटाले व्यंग्यात्मक शैलीमा पार्टीको वर्तमान अवस्था चित्रण गर्दै अब एमालेलाई पहिलो पार्टी कसरी बनाउने भन्ने विषयमा कृत्रिम बुद्धिमत्ता (एआई) लाई सोध्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन्।
उनले थप लेखेका छन्, ‘म एआईलाई सोध्छु– एमाले पहिलो कसरी बन्छ ?’
बास्कोटाको यो अभिव्यक्तिलाई पार्टी सचिवालयको कार्यविभाजनप्रतिको असन्तुष्टि र नेतृत्वप्रति अप्रत्यक्ष आलोचनाका रूपमा हेरिएको छ। एमालेले हालै नेताहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यविभाजन सार्वजनिक गरेको थियो।