

काठमाडौँ । मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय सवारीसाधन (ईभी) नियन्त्रणमा लिएको प्रकरणमा थप अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ। भन्सार छली गरी सवारीसाधन नेपाल भित्र्याइएको आशंकापछि उनीहरूलाई जिम्मेवारीमुक्त गरी भन्सार विभागमा तानिएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवागढी नाकामा भन्सार बिन्दुसम्म नआएका सवारीसाधनको समेत भन्सार जाँचपास भएको भन्ने विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो।
सचिवालयले जारी गरेको जानकारीअनुसार थप अनुसन्धानका लागि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई विभागमा तानेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका विद्युतीय सवारीसाधनको विषयमा पनि अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत अनुसन्धान गरिरहेको छ।
अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि सम्मिलित टोली घटनास्थलमै खटिएर अनुसन्धानमा जुटेको छ। प्रारम्भिक रूपमा भन्सार छलीको आशंकामा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएका सवारीसाधन तथा सम्बन्धित आयातकर्ता कम्पनीमाथि थप अनुसन्धान जारी रहेको जनाइएको छ।