काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमणका लागि आज प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा उनी जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा रहनेछन्।
भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका मन्त्री खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालका प्राथमिकताका विषयमा भारतीय पक्षसँग खुला संवाद हुने बताए।
‘हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौँ। अहिले उठेका सबै विषयमा हामी छलफल गर्छौँ,’ उनले भने।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा पारस्परिक हितका विषयमा विस्तृत छलफल हुनेछ।
विशेषगरी व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषय वार्ताको मुख्य एजेन्डामा रहने जनाइएको छ।
मन्त्रालयले नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, कूटनीतिक र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
निर्धारित कार्यतालिकाअनुसार परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किनेछन्।