

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
पार्टीका महामन्त्री डा. धवलशमशेर राणानिकट नेताहरूले बिहीबार सामूहिक रूपमा राप्रपा छाडेको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्नेहरूमा मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायत शीर्ष तहका नेताहरू रहेका छन्।
पार्टी छाड्नेहरूमा केन्द्रीय पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला तहका पदाधिकारीसमेत समावेश छन्। असन्तुष्ट पक्षले यो पहिलो चरणको सामूहिक बहिर्गमन भएको जनाएको छ।
उनीहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै हिनताबोध, कमजोरी र आत्मकेन्द्रित प्रवृत्तिका कारण राप्रपा आफ्नो मूल सिद्धान्तबाट विचलित भएको आरोप लगाएका छन्।
राजीनामा दिने नेताहरूले जनतामुखी राजनीति पार्टीको प्राथमिकता भनिए पनि व्यवहारमा त्यसअनुसार काम नभएको उल्लेख गरेका छन्। साथै, केन्द्रीय कार्यसमितिलाई जानकारी नदिई पार्टी नेतृत्वले ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ सम्बन्धी न्यूनतम साझा कार्यक्रमको साझेदार बनेको विषयप्रति पनि असहमति व्यक्त गरेका छन्।
उनीहरूले पार्टीभित्र विचार र व्यवहारबीच गम्भीर अन्तर देखिएको तथा यही कारण जनताबाट पार्टी दण्डित भएको दाबी गरेका छन्। स्वेच्छाचारितालाई नियन्त्रण गरी जवाफदेहिता स्थापित गर्ने प्रयास हुँदा नेता–कार्यकर्तामाथि निरंकुश ढंगले कारबाही गरिएको आरोप पनि उनीहरूको छ।
पार्टी परित्याग गर्दै जारी गरिएको विज्ञप्तिमा राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरूलाई कमजोर बनाउन नेतृत्व स्वयं सक्रिय भएको, तर संसद्मा संवैधानिक राजसंस्थाको पक्षमा कुनै प्रस्तावसमेत दर्ता नगरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा राप्रपाको स्थापना भएको मूल उद्देश्य, सिद्धान्त र मान्यतालाई कमजोर बनाउने प्रवृत्ति बढेकाले पार्टी परित्याग गर्न बाध्य भएको जनाइएको छ।