हात्तीको दाह्रासहित पाँच जना पक्राउ

हात्तीको दाह्रासहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंमा अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा राजिव महर्जन, आयुष महर्जन, टेकप्रसाद गुरुङ, पुरन बोहोरासन्तबहादुर भुजेल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई काठमाडौंको मनमैजु क्षेत्रबाट पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानका क्रममा उनीहरूले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा सञ्चय, ओसारपसार तथा बिक्री–वितरण गरिरहेको खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा अभियुक्तहरूले हात्तीको दाह्रालाई टुक्राटुक्रा पारेर खाली जग्गामा गाडेर राखेको अवस्थामा फेला परेको थियो। उनीहरूको साथबाट लागुऔषध ट्रामाडोलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंडिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ।