विपक्षी अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

विपक्षी अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्धारित कार्यसूची अघि बढाउने प्रयास गरेका थिए। तर, पटक–पटक आग्रह गर्दा पनि विरोध कायम रहेपछि बैठक स्थगित गरिएको हो।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची थियो। साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको थियो।

त्यसैगरी, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने कार्यसूचीमा समावेश थियो।

तर विपक्षी दलहरूको निरन्तर अवरोधका कारण कुनै पनि कार्यसूचीमाथि छलफल हुन नसकेको हो।

राष्ट्रियसभाको अर्को बैठक जेठ २६ गते मंगलबार अपराह्न १:१५ बजे बस्ने तय गरिएको छ।