दिल्लीमा रविको हाइप्रोफाइल भेटः नेपाल–भारत सम्बन्धबारे छलफल

दिल्लीमा रविको हाइप्रोफाइल भेटः नेपाल–भारत सम्बन्धबारे छलफल

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। समाचार संस्था एएनआईका अनुसार नयाँ दिल्लीमा भएको उक्त भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेटमा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू पनि सहभागी थिए।

भेटपछि प्रतिक्रिया दिँदै विदेशमन्त्री जयशंकरले रास्वपा सभापति लामिछानेसँगको वार्ता फलदायी रहेको बताएका छन्। उनले विकासका साझा मुद्दा र जनता–जनताबीचको सम्बन्ध विस्तारका विषयमा सकारात्मक संवाद भएको उल्लेख गरेका छन्।

पाँच दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका लामिछानेले मंगलबार बिहान भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग पनि भेटवार्ता गरेका थिए। विदेशमन्त्री जयशंकरसँगको भेटमा नेपाल र भारतका राजनीतिक दलहरूबीचको सहकार्य, क्षेत्रीय हित तथा आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।