रवि लामिछानेको भारतमा सन्देश: सीमा विवादभन्दा विकास र आर्थिक सहकार्यमा जोड

रवि लामिछानेको भारतमा सन्देश: सीमा विवादभन्दा विकास र आर्थिक सहकार्यमा जोड

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। भारतीय दैनिक Hindustan Times मा मंगलबार प्रकाशित लेखमार्फत उनले सीमा विवादजस्ता विषयलाई दीर्घकालसम्म थाँती राख्नु उपयुक्त नहुने धारणा व्यक्त गरेका हुन्।

लामिछानेले चुनावी स्वार्थका लागि उग्र राष्ट्रवादको प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गर्दै ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने बताएका छन्।

‘हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौँ। हाम्रो मुख्य एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,’ उनले लेखमा उल्लेख गरेका छन्।

उनले नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक बहसबाट बाहिर निकालेर विकास, लगानी, पूर्वाधार र आर्थिक साझेदारीतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। नेपालमा आएको राजनीतिक परिवर्तनलाई उनले ‘मतपेटिकामार्फत सम्पन्न शान्तिपूर्ण क्रान्ति’को संज्ञा दिँदै रास्वपाको उदयलाई नयाँ राजनीतिक यथार्थका रूपमा प्रस्तुत गरेका छन्।

लेखमा उनले नेपाल र भारतलाई केवल छिमेकी मुलुक नभई साझा सभ्यता र सांस्कृतिक सम्बन्धले जोडिएका साझेदारका रूपमा चित्रण गरेका छन्। जनकपुरअयोध्या, पशुपतिनाथ मन्दिरकेदारनाथ मन्दिर तथा लुम्बिनीबोधगया बीचको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई उनले साझा सभ्यताको आधारका रूपमा उल्लेख गरेका छन्।

लामिछानेले दुई देशबीच पूर्वाधार र आर्थिक सहकार्य विस्तारका लागि विभिन्न प्रस्ताव पनि अघि सारेका छन्। उनले प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग निर्माण भए व्यापार, पर्यटन र जनस्तरको सम्पर्कमा ठूलो परिवर्तन आउने बताएका छन्। साथै पोखरालुम्बिनी बाट दिल्ली, मुम्बईबेङ्गलुरु सम्म सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा उनले Indian Institutes of Technology (IIT)All India Institute of Medical Sciences (AIIMS) जस्ता प्रतिष्ठित संस्थासँग सहकार्यको प्रस्ताव गरेका छन्। प्रविधि क्षेत्रमा काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर, स्टार्टअप इन्क्युबेसन केन्द्र, फिनटेक र डिजिटल भुक्तानी प्रणालीमा साझेदारी गर्न भारतलाई आग्रह गरेका छन्।

नेपालको जलविद्युत् क्षमता भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जाको महत्वपूर्ण स्रोत बन्न सक्ने उल्लेख गर्दै उनले एकीकृत ऊर्जा बजारको अवधारणामा समेत जोड दिएका छन्। साथै सीमाक्षेत्रमा रहेका प्रशासनिक अवरोध हटाएर आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्नुपर्ने प्रस्ताव पनि गरेका छन्।

पर्यटन प्रवर्द्धनका लागि जनकपुर, लुम्बिनीबोधगया लाई जोड्ने धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट विकास गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन्।