

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपका लागि अन्तर्राष्ट्रिय फुटबलमा खेलको गति बढाउने र समय खेर फाल्ने प्रवृत्ति रोक्ने उद्देश्यसहित विभिन्न नयाँ नियमहरू लागू हुने भएका छन्।
फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाका अनुसार अब खेलका दौरान गोलकिपर घाइते भएको बहानामा खेलाडीहरू कोचसँग सल्लाह लिन ‘प्राविधिक क्षेत्र’ (टेक्निकल एरिया) मा जान पाउने छैनन्। यस्तो अभ्यासलाई समय खेर फाल्ने रणनीति मान्दै रोक लगाइएको हो।
नयाँ नियमअनुसार गोलकिपर घाइते हुँदा दुवै टोलीका खेलाडीहरू मैदानमै बस्नुपर्नेछ वा सेन्टर सर्कलमा रहने व्यवस्था हुनेछ। खेलाडीहरूले बीचमै गएर कोचसँग रणनीति लिन पाउने छैनन्।
त्यस्तै, अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (IFAB) ले भिएआर (VAR) प्रोटोकलमा पनि महत्वपूर्ण परिवर्तन गरेको छ। अब कर्नर वा फ्रि-किक प्रहार हुनुअघि भएका फाउलहरू समेत भिएआरले समीक्षा गर्न सक्नेछ। विशेषगरी आक्रमणकारी खेलाडीले डिफेन्डरलाई रोक्ने घटनामा त्यसको जाँच गरी गोल रद्द गर्न सकिने व्यवस्था गरिएको छ।
यससँगै अनुशासनसम्बन्धी नियम पनि कडा बनाइएको छ। मैदानमा विवादका क्रममा खेलाडीले हात वा कपडाले मुख छोपेर बोलेमा त्यसलाई रातो कार्ड दिइनेछ। यद्यपि सामान्य वा मित्रवत कुराकानीका लागि यस्तो व्यवहारलाई अनुमति रहनेछ।
खेलको गति बढाउन ‘काउन्टडाउन’ नियम पनि लागू हुनेछन्। अब थ्रो-इन ढिला गरे ५ सेकेन्डभित्र बल विपक्षीलाई दिइनेछ, गोल-किक ढिला गरे कर्नर दिन सकिनेछ। सब्स्टिच्युसनका क्रममा खेलाडीले १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ, अन्यथा टोली एक मिनेटसम्म १० खेलाडीमा खेल्न बाध्य हुनेछ।
त्यस्तै, उपचारका लागि मैदान बाहिर जानुपर्ने खेलाडी कम्तीमा ६० सेकेन्ड बाहिर बस्नुपर्नेछ। भिएआरले कर्नर सही रूपमा दिइएको छ कि छैन र दोस्रो पहेंलो कार्डको निर्णय सही हो कि होइन भन्ने पनि पुनः जाँच गर्न सक्नेछ।
फिफाले यी परिवर्तनहरूलाई खेलको गति बढाउने, निष्पक्षता सुनिश्चित गर्ने र समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्ने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।